देश

कक्षा १२ को अङ्ग्रेजी प्रश्नपत्र आउट भएको खबर भ्रामक: राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले आइतबार सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको खबर भ्रामक भएको बताएको छ। यसअघि भक्तपुरको एक स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएको समाचार सार्वजनिक भएको थियो।

त्यस लगत्तै जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बोर्डले बताएको छ।

‘आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा जिल्ला परीक्षा समन्वय समिति, भक्तपुरका पदाधिकारी एवं जिल्ला प्रशासन कार्यालय, भक्तपुरका प्रमुख जिल्ला अधिकारीज्यू र राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीद्वारा सम्बन्धित परीक्षा केन्द्रमा गई छानबिन गर्दा उक्त सूचना भ्रामक र गलत भएको पाइएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ जारी विज्ञप्तिमा उल्लेख छ।

सामाजिक सञ्जालमा सम्प्रेषण भएका यस प्रकारका गलत सूचनामा विश्वास नगर्न र आगामी दिनमा पनि यस्ता भ्रामक सूचनाको विश्वास नगरी आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिन सम्पूर्ण परीक्षार्थीहरूलाई बोर्डले अनुरोध गरेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *