देश

कक्षा १२ को परीक्षामा ७३ वर्षीया छात्राको सहभागिता

काठमाडौँ। माध्यामिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक परीक्षा आजदेखि देशभर शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा व्यवस्थित रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ। सबैभन्दा बढी काठमाडौँमा १६२ र मनाङ–मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको छ। परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी छन्।

त्यसैगरी आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कूल पाँच लाख ११ हजार ५२५ परीक्षार्थीले परीक्षाका लागि आवेदन दिएका थिए।

यस वर्ष सबैभन्दा कम मनाङबाट ४५ परीक्षार्थी सहभागी हुँदैछन् भने सबैभन्दा धेरै काठमाडौँबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।

यसैबीच, काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुको एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीया सूर्यवती खनालले कक्षा १२ को परीक्षामा सहभागी भएकी छन्। उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।

प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ। चार छोराछोरीकी आमा तथा तीन जना नातिनातिनाकी हजुरआमा खनालले छोराछोरी हुर्किएपछि र पढ्ने इच्छा भएपछि विद्यालय भर्ना भई नियमित पढाइलाई निरन्तरता दिएकी हुन्। उनले एसईई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यामिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। उनका श्रीमान् विद्यालयका शिक्षक हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *