काठमाडौं । कक्षा १२ को परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको खबरले तहल्का मच्चाएको छ। भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको परीक्षा केन्द्रमा प्रश्नपत्र लिक भएको सूचना बाहिरिएपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले तत्काल छानबिन सुरु गरेका छन्।
प्रश्नपत्र ‘आउट’ भएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल नेतृत्वको टोलीले परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर अनुगमन गर्यो। अनुगमनपछि प्रहरीले विद्यार्थीका मोबाइल जफत गरेको छ र अहिले ती मोबाइलहरूको डिजिटल फरेन्सिक जाँच हुँदैछ।
सीडीओ अर्यालका अनुसार प्रहरी र परीक्षा बोर्डको आईटी टोलीसहित संयुक्त अनुसन्धान समिति बनेको छ र घटनाको गम्भीर रूपमा छानबिन भइरहेको छ। अहिले सम्म काठमाडौं वर्ल्ड स्कूलका परीक्षार्थीलाई परीक्षा सकिएपनि बाहिर जान दिइएको छैन।
यस विषयमा शिक्षा पत्रकार मकर श्रेष्ठले फेसबुकमा जानकारी सार्वजनिक गरेका थिए। उनले एक छात्राले परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र मोबाइलमा पाएको भन्दै खुशी व्यक्त गरेपछि यो कुरा बाहिर आएको बताएका छन्। रिपोर्टअनुसार, अघिल्लो वर्ष पनि यस्तै आरोप लागेको भएपनि त्यसबेला परीक्षा बोर्डले गम्भीर रूपमा नलिएको थियो। तर यस पटक भने जिल्ला प्रशासन आफैं सक्रिय भएर छानबिनमा जुटेको छ।




