काठमाडौँ। कक्षा १२ को वार्षिक परीक्षा आज आइतबारदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। यद्यपि, देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न कठिनाइ भएको छ।
काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि नै वर्षा जारी छ। काठमाडौँमा पनि विद्यार्थीहरू पानीमा रुझ्दै र छाता ओढेर परीक्षा केन्द्रहरूमा पुगेका छन्। आगामी जेठ २ गतेसम्म सञ्चालन हुने यस परीक्षामा देशभरबाट पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। परीक्षा सञ्चालनका लागि देशभर ४८ हजार दुई सय नौ जना जनशक्ति खटिएका छन्।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार नौ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्। देशभरिका पाँच हजार दुई सय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ। यस वर्ष जापानबाट ३८ जना विद्यार्थीले पनि कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ती विद्यार्थीहरू त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।




