देश

धरान स्मार्ट बसपार्क जेठभित्र सञ्चालनमा आउने, ९८ प्रतिशत काम सम्पन्न

धरान (सुनसरी)। धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ। करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ।

धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार संघीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण सुरु गरिएको थियो। ‘बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरी’ले २३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण थालेको इन्जिनियर शर्माले बताए।

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन्। बसपार्कको बाह्य सडक, मार्बल, फल्स सिलिङ लगायतका काम सकिएका छन् भने बसपार्क अगाडिको केही बाटोको काम भइरहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए। इन्जिनियर शर्माका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु अट्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा यात्रु ओर्लने र चढ्ने २२ वटा अटो पार्किङ रहनेछन्।

भवनको पहिलो तलामा उपमहानगरपालिकाको आम्दानीका लागि पसल राख्न मिल्ने गरी १८ वटा कोठा छन्। बसपार्कको अधिकांश काम सकिइसकेको छ भने फिनिसिङका केही काम धमाधम भइरहेका छन्। सम्पूर्ण काम सम्पन्न गरेर आउँदो जेठभित्र भवन हस्तान्तरण गरिने इन्जिनियर शर्माले जानकारी दिए।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या हुँदै आएको थियो। साँघुरो बसपार्कका कारण यात्रुलाई हुने सास्ती र समस्यालाई ध्यानमा राखेर उपमहानगरपालिकाले अत्याधुनिक भवनसहित स्मार्ट बसपार्क निर्माण थालेको हो। स्मार्ट बसपार्क निर्माणपछि सहज रूपमा यात्रा गर्न सकिने अपेक्षा गरिएको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *