जलश्रोत/उर्जा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा, सडक अवरोधले परीक्षण उत्पादनमा ढिलाइ

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्माणाधीन २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित यो आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ। आयोजना प्रमुख लोकबहादुर नायकका अनुसार बाँध, विद्युत्गृह र पाइपलाइन जडानको काम सकिएको छ भने विद्युत्गृहमा उपकरण जडान र प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।

“२०८२ वैशाख महिनासम्म परीक्षण उत्पादन सुरु गर्ने कार्यतालिका बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक स्तरोन्नतिका कारण अवरुद्ध भएपछि प्रभावित बनेको छ,” उनले भने, “सडकका कारण भौगोलिक रूपमा विकट क्षेत्रमा अवस्थित विद्युत्गृहका उपकरण ढुवानीमा ढिलाइ हुँदा जडानमा समस्या भएको हो।”

सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), २९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान सम्पन्न भएको छ भने फेदीमा विद्युत्गृह निर्माण भएको छ। विद्युत्गृह परिसरमा स्विचयार्ड निर्माण कार्य जारी छ।

फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ। बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरी तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिनेछ।

देव ऊर्जा कन्ट्रक्सन सिभिल र हाइड्रोमेकानिकल ठेकेदार हुन् भने बिएफएल ब्याङलोर इलेक्ट्रोमेकानिकल ठेकेदार हुन्। तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्। प्रवद्र्धकको १० प्रतिशत लगानी रहने यस आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरी सर्वसाधारणमार्फत जुटाइनेछ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *