काठमाडौँ । गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ३८ रनले पराजित गरेको हो ।
गुजरातले दिएको २२५ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो ।
सनराइजर्सका लागि अभिषेक शर्माले सर्बाधिक ७४ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले कप्तान शुभमन गिलको ७६, जोस बटलरको ६४ र साई सुदर्शनको ४८ रनको मद्धतले २० ओभरमा ६ विकेट गुमाउदै २२४ रन बनाएको थियो ।
यो जितपछि गुजरातको १० खेलमा १४ अंक भएको छ । ७ जित र ३ हार बेहोरेको गुजरात अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै सनराइजर्स भने यस अघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । सनराइजर्सको १० खेलमा ३ जित र ७ हारसहित ६ अंक रहेको छ र नवौं स्थानमा छ ।




