काठमाडौं । सरकारले स्नातक तहमाथिका विद्यार्थीहरूलाई पढाइसँगै रोजगारीको अवसर दिने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था समावेश गरिएको हो।
शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कमाउँदै–पढ्दै’ नीति कार्यान्वयनमा ल्याइने जानकारी दिए। उक्त नीति अनुसार विद्यार्थीहरूले हप्तामा अधिकतम २० घण्टा काम गर्न पाउनेछन् र त्यसवापत न्यूनतम ज्यालाको व्यवस्था गरिनेछ।
युवाहरूलाई व्यावसायिक जीवनमा प्रारम्भिक अनुभव दिलाउनका लागि स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नको प्रयोग गर्ने पनि सरकारको योजना छ। सरकारको यो नीति शैक्षिक अभ्यास र आर्थिक आत्मनिर्भरताबीचको सन्तुलन कायम गर्न महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। यस्तै राष्ट्रपति पौडेलले आर्थिक वर्षलाई रोजगारी दशकका रुपमा घोषणा गरेका छन् ।




