काठमाडौं । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा आफूहरू उपेक्षित भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
रत्नराज्य माध्यमिक विद्यालयमा बिहीबार सहमतिको जानकारी गराउने कार्यक्रमका क्रममा कर्मचारीहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए ।
विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सहमतिमा सञ्चित बिदा, तलबमान र श्रेणीविहीन कार्यालय सहयोगीहरूको अधिकारसम्बन्धी विषय उपेक्षा गरिएको बताए ।
उनले शिक्षकहरूलाई सरकार र महासंघले “ललिपप” देखाएको आरोप लगाउँदै आफूहरू अब स्वतन्त्र रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
योगीले शिक्षक आन्दोलनमा आर्थिक अपारदर्शिता र घोटालाको आरोपसमेत लगाउँदै एक वर्षसम्म पनि सडकमा सङ्घर्ष गर्न तयार रहेको बताए ।




