देश

छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि छेके र बाजु लेकतिर प्रस्थान

गोरखा । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर जान थालेका छन्। मौसम अनुकूल हुनासाथ छेकम्पारका स्थानीयवासी यार्सागुम्बाको खोजीमा ती उच्च पहाडी भेगमा जान थालेको स्थानीय छिरिङफुञ्जो लामाले जानकारी दिए।

उनले भने, “कतिपय त हिँडिसकेका छन्, भने केही जाने तयारीमा जुटेका छन्। तर, मौसममा आएको खराबीले भने केही कठिनाइ उत्पन्न गरिरहेको छ।” चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकहरूमा उच्च गुणस्तरको यार्सागुम्बा पाइन्छ। यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आयस्रोतका रूपमा लिइन्छ। चुमनुब्रीको वडा नं ३ र धार्चे गाउँपालिकाको वडा नं ३ का लेकहरूमा पनि यार्सागुम्बा पाइन्छ।

छेकम्पारका बासिन्दा यार्सागुम्बा टिप्नका लागि वैशाखको पहिलो सातादेखि नै लेकतिर जान थालेको निवर्तमान वडाध्यक्ष पासाङ फुञ्जो लामाले बताए। “स्थानीय जान त गएका छन्, तर लेकमा अझै हिउँ जमेको छ,” उनले भने, “यो वर्ष हिउँ ढिलो परेकाले लेक गएकाहरूले हिउँ पन्छ्याउँदै यार्सा खोज्दै होलान्।” वैशाख लागेपछि लेक गएकाहरू असारतिर मात्र घर फर्किन्छन्। स्थानीय बासिन्दाले करिब दुईदेखि अढाई महिनालाई पुग्ने खाद्यान्न, याक–चौंरीका लागि रासनपानी र लत्ताकपडा बोकेर लैजान्छन्।

यार्सागुम्बाको मौसम सुरु भएपछि अधिकांशले घरमा ताला लगाएर परिवारका सदस्य, घरपालुवा पशुचौपायासहित लेकमै अस्थायी क्याम्प बनाउँछन्। “लेकमा अस्थायी क्याम्प बनाउँछन्, बालबच्चादेखि याक, चौंरीसम्म सबै लेकमै लैजान्छन्,” लामा पासाङले भने, “कसै–कसैका घरमा हिँड्न नसक्ने वृद्धवृद्धा छन् भने तल्लो भेगका मान्छेलाई घर कुरुवा राखेर आफू सबै लेकमै जान्छन्।”

यहाँका बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बा बिक्रीबाट हुने आम्दानी हो। उनीहरूले यार्सागुम्बा बेचेर दुई लाखदेखि चार लाख रुपैयाँसम्म कमाउने गर्छन्। “अचेल लेकमा किरा पाउनै छोड्यो, दिनभरि खोज्दा एउटा, दुईटा मात्र भेटिन्छ,” छिरिङ फुञ्जोले भने, “अब केही वर्षपछि त त्यही पनि पाउन छोड्छ होला।” यार्सागुम्बा सङ्कलनका लागि प्रत्येक घरले स्थानीयस्तरको समितिलाई रु ५०० र गाउँपालिकालाई रु ५०० शुल्क तिर्नुपर्ने व्यवस्था छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *