देश

जोखिममा रहेका सात गुँडबाट गोहीका २३२ अण्डा सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारमा जोखिममा रहेका घडियाल गोहीका सात वटा गुँडबाट २३२ वटा अण्डा सङ्कलन गरिएको छ। निकुञ्जले गोहीको गुँड खोजी गरी ती अण्डा प्रजनन केन्द्रमा ल्याएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पहिचान गरिएका १८ वटा गुँडमध्येबाट ती अण्डा सङ्कलन गरिएको हो। निकुञ्जले राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरु गरेको थियो।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ गुँडमध्ये आठ वटाका अण्डा निकालिएको थियो र २४७ वटा अण्डा कोरलिएको मगरले बताए। उनले गोहीको प्राकृतिक रूपमा बच्चा कोरल्ने दर कम भएकाले हरेक वर्ष अण्डा सङ्कलन गरेर गोही प्रजनन केन्द्रमा ल्याउने गरिएको जानकारी दिए।

गोहीको अण्डाबाट प्राकृतिक रूपमा बच्चा कोरल्न तापक्रम नमिल्ने तथा सर्प, चरा र अन्य जनावरबाट क्षति पुग्ने खतरा हुन्छ। साथै, बाढीले गुँड बगाउने जोखिम पनि रहेकाले अण्डा सङ्कलन गरी केन्द्रमा ल्याइन्छ। अण्डा सङ्कलनका लागि निकुञ्जका छ जना कर्मचारी सहभागी छन्।

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरी नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर कोरल्ने र हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरेको छ। यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती र कर्णालीलगायत नदीमा छाडिँदै आइएकामा पछिल्लो समय राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ।

सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। नारायणी र राप्ती नदीमा छाडिएका गोही बाढीले बगाएर भारत पुग्ने र त्रिवेणी बाँधका कारण फर्कन नसक्ने समस्या रहेको सूचना अधिकारी मगरले बताए। माछा मार्न प्रयोग हुने जालमा फसेर मर्ने र नदीजन्य पदार्थ उत्खननलगायत मानवीय अतिक्रमणका कारण पनि गोही संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *