रामपुर (बाँके)। बैजनाथ गाउँपालिका रामपुर बाँकेले संघीय शिक्षा ऐन जारी गर्न सम्बन्धित निकायलाई हार्दिक अपिल गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेद्वारा जारी सूचनामा विगत २८ दिनदेखि शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरूले संघीय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेकाले विद्यालयको अन्तिम नतिजा प्रकाशन, विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण लगायतका नियमित कार्यहरूमा नकारात्मक प्रभाव परेको उल्लेख छ।
जारी आन्दोलनबाट विद्यार्थीको भविष्यमाथि प्रत्यक्ष असर पर्ने भएकाले परीक्षाफल प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण जस्ता अत्यावश्यक र संवेदनशील क्रियाकलापहरू अगाडि बढाउनुका साथै २०८२ वैशाख १७ गतेदेखि लागू हुने गरी हाल उपलब्ध जनशक्ति खटाई भर्ना अभियानलाई समेत निरन्तरता दिन गाउँपालिकाले निर्देशन दिएको छ।





