देश

यार्सागुम्बा लगानीको नाममा ठगी गर्ने पूर्व हवल्दार ठमेलबाट पक्राउ

काठमाडौं ।  यार्सागुम्बा व्यापारमा लगानी गराउने बहानामा ३६ लाख रुपैयाँ ठगी गरेका एक पूर्व प्रहरी हवल्दारलाई काठमाडौंको ठमेलस्थित दोहोरी साँझबाट पक्राउ गरिएको छ।

पक्राउ पर्ने व्यक्ति जाजरकोटको नलगाड–७ निवासी ४१ वर्षीय दिपेन्द्र सिंह हुन्। उनी नेपाल प्रहरीका पूर्व हवल्दार भएको पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिलाई यार्सागुम्बा किनबेचमा लगानी गर्न भन्दै उनले ठूलो रकम लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले जानकारी दिए।

सोमबार सिंहलाई ठमेलबाट नियन्त्रणमा लिएको हो। उनको नाममा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बैंकिङ्ग कसुर अन्तर्गत ३० लाखको जाहेरी दर्ता भएको पाइएको छ। यति मात्र होइन, उनले बाँकेमा प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख र कोहलपुरमा सेनामा भर्ती गराउने बहानामा थप ४ लाख ठगी गरेको उजुरीसमेत अपराध रेकर्ड सिस्टममा फेला परेको एसपी जिसीले जानकारी दिए। पक्राउ परेका सिंहमाथि आवश्यक अनुसन्धान अघि बढाइएको र पीडितको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *