काठमाडौं। चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि आवाज उठाउँदै आएका प्रा. डा. गोविन्द केसीले एमबीबीएस तथा बीडीएस कार्यक्रमको सिट संख्या बढाउने सरकारी तयारीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले सरकारलाई माग तत्काल सम्बोधन नगरे सत्याग्रहमा उत्रिने चेतावनी दिएका छन्।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा डा। केसीले भनेका छन्, “एमबीबीएसको सिट हालको एक सयभन्दा बढाउन मिल्दैन। निजी मेडिकल कलेजमा श्रम शोषणमा परेका रेजिडेन्ट डाक्टरको माग सम्बोधन हुनुपर्छ। विगतमा भएका सहमति तत्काल कार्यान्वयन गरियोस्।”
हाल देशका मेडिकल कलेजहरूमा एमबीबीएस पढाउन एक सय सिटको सीमा तय गरिएको छ। तर, शिक्षासचिव डा। दीपक काफ्लेको संयोजकत्वमा गठित कार्यदलले उक्त सिट संख्या हटाउने र बढाउने सुझाव दिएको छ। यो सुझाव कार्यान्वयन भए एमबीबीएस र बीडीएस दुबैमा सिट संख्या वृद्धि हुने सम्भावना छ।
डा. केसी हाल म्यानमारका भूकम्पपीडितको सेवा गरेर नेपाल फर्कँदैछन्। उनले आफ्नो विज्ञप्तिमा चिकित्सा शिक्षा ऐन लागु भएपछिको सुधारप्रति सन्तोष व्यक्त गरे पनि पछिल्लो समय आयोगमा नेतृत्व परिवर्तनपछि पुनः स्वार्थी समूहहरूको हस्तक्षेप बढेको आरोप लगाएका छन्।
“आयोगको स्वतन्त्रता संकटमा छ। ठग, फटाहा र माफियाको लहैलहैमा परेर शिक्षा प्रणालीमा बन्चरो हानिएको छ,” डा.केसीले लेखेका छन्। उनले पहिलेदेखि उठाउँदै आएका मागहरूमा ध्यान नदिए सरकारले फेरि आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।




