
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सात वटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा बिस्तार गर्ने गरी सरकार अघि बढिरहेको बताएका छन् ।अगामी आर्थिक वर्षको बजेटबारे सोमवार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
क्यान्सर उपचार सेवा हाल सबै प्रदेशमा पुग्न नसकेको उल्लेख गर्दै उनले आगामी वर्षभित्र सात वटै प्रदेशमा बिस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए ।उनले मुटु र जलन उपचार सेवाको पूर्वाधार निर्माणका लागि पनि काम अघि बढिसकेको बताए । हालसम्म ६० वटा आधारभूत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए ।
उनले भने, ‘अब हामीले नीतिगत र सुशासनको क्षेत्रमा सहकार्य कसरी गर्न सकिन्छ भन्नेबारेमा सहकार्य गरौं । जुनसुकै तहको अस्पताल जहाँ छ त्यसमा तीन वटै तहको सरकार मिलेर लगानी गरौं । सीमित स्रोत साधनकाबीच प्रभावकारी सेवा बिस्तार गर्न सहयोग पुग्छ कि । हामी यस्तो मोडालिटीको विकास गर्न खोजिरहेका छौं । त्यसैगरी हामी क्यान्सर उपचार सेवा सात वटै प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेका छौं । अहिले सबै प्रदेशमा पुगेको छैन । अब बिस्तारै पुग्ने क्रममा छ ।
मुटु रोगको उपचार पनि अगामी आर्थिक वर्षदेखि सात वटै प्रदेशमा पुर्याउनेगरी अगाडि बढेको स्थिति छ । त्यस्तै जलन उपचार पनि सात वटै प्रदेशमा बिस्तार गर्ने गरी भौतिक संरचना निर्माणको काम अगाडि बढाएको स्थिति छ । अहिले हामीसँग भएका स्वास्थ्य उपचारको समेत प्रयोग गर्ने समय सिद्धिन लागेको स्थिति छ । प्रदेश अस्पतालहरूको हकमा समेत त्यही खालको स्थिति रहेको छ । त्यस्तै संघीय अस्पतालहरूमा समेत पर्याप्त पूर्वाधार बन्न सकेको छैन । अब ६० वटा आधारभूत अस्पतालका भवनहरू बनेका छन् । तर त्यसमा जनशक्ति पनि छैन, उपकरण पनि छैन ।’
निर्माणाधीन आधारभूत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको बताए ।