देश

बाढीले बगाएको खार्तेको पुल पुनः निर्माण अन्तिम चरणमा

ओखलढुङ्गा । गत वर्षको बाढीले बगाएको रुम्जाटार–कुइभिर सडकअन्तर्गत खार्ते खोलाको मोटरेबल पुल पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी) मानभवन ललितपुरको सहयोगमा ६० मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल निर्माण भइरहेको छ । पुष्पाञ्जली कन्स्ट्रक्सन कम्पनीले २०८० साल कात्तिकमा ठेक्का सम्झौता गरेको थियो र २०८१ भदौमा काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, २०८१ जेठ १२ गते खार्ते खोलामा आएको बाढीले पुल निर्माणका लागि ल्याइएका फलामे ट्रस्ट, ग्याबिन जालीलगायतका सामग्री बगाउँदा करिब रु ७२ लाख बराबरको क्षति भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण व्यवसायी बबी श्रेष्ठले फलामे ट्रस्टको बिमा भुक्तानी समयमै नभएका कारण ठूलो घाटा व्यहोर्नुपरेको बताए।

बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको पुलको काम अहिले तीव्र गतिमा भइरहेको छ र असार मसान्तअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय सडक पुल कार्यक्रमका इन्जिनियर सबिन लामाका अनुसार पुल निर्माणको काम ८० प्रतिशतभन्दा बढी सकिएको छ । मुख्य अप्ठ्यारो मानिएको ट्रस्ट जोड्ने काम अन्तिम चरणमा पुगेको र अब कठिन काम कम भएकाले समयमै काम सम्पन्न हुने विश्वास उनले व्यक्त गरे।

निर्माण व्यवसायीले पुल निर्माण सामग्री ल्याउन सडक मर्मतका लागि करिब रु एक लाख ५० हजार खर्च गर्नुपरेको गुनासो गरेका छन्। निर्माणाधीन मोटरेबल पुल खार्ते खोला चिसङ्खुगढी गाउँपालिका–३ र ८ मा पर्दछ। बाढीले सामग्री बगाएको समयमा र अन्य बेलामा पनि सामान्य सहयोगका लागि आग्रह गर्दा चिसङ्खुगढी गाउँपालिकाले कुनै सहयोग नगरेको उनीहरूको गुनासो छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *