देश

एनआरएनए एकता महाधिवेशन : ६२५ प्रतिनिधिको प्रारम्भिक मतदाता नामावली सार्वजनिक

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनतर्फ महत्वपूर्ण प्रगति हुँदै गर्दा निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। सोमबार एक सूचना जारी गर्दै समितिले हालसम्म छनोट गरिएका ६२५ योग्य प्रतिनिधिको नाम सार्वजनिक गरेको हो।

समितिका अनुसार बाँकी आवेदनहरूको छानबिन प्रक्रियापछि थप नाम समावेश गर्दै दोस्रो चरणको नामावली चाँडै सार्वजनिक गरिनेछ। महाधिवेशनको पूर्वतयारी अन्तर्गत यो कदम महत्त्वपूर्ण मानिएको छ।

गएको वर्ष सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गते (मे ३–५, २०२५) काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। उक्त सम्मेलनमा एनआरएनएको नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन हुने छ।

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता आशिष उप्रेती, र सेवा निवृत्त मेजर डमर घले सदस्य रहेका छन्। समितिका सदस्य–सचिवका रूपमा अधिवक्ता लेखत बहादुर खड्का कार्यरत छन्। महाधिवेशनका लागि झन्डै ३२ सय जनाले प्रतिनिधिका रूपमा आवेदन दिएका छन्। तीमध्येबाट योग्य उम्मेदवार छनोट गरी प्रमाणीकरणको प्रक्रिया जारी रहेको समितिले जनाएको छ। यसपटकको महाधिवेशन एनआरएनएभित्रको एकता र पुनर्संरचनातर्फ निर्णायक मोड सावित हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *