काठमाडौँ। हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानी चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।
कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानका अनुसार गत आर्थिक वर्षको वैशाख पहिलो हप्तासम्ममा पर्यटन शुल्कबाट रु १४ करोड छ लाख ६३ हजार सङ्कलन भएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा रु १५ करोड २६ लाख ३५ हजार सङ्कलन भएको छ। पर्यटन सेवा शुल्क, अन्य सेवा शुल्क र प्रशासनिक सेवा शुल्कमा भएको वृद्धिले कुल आम्दानी बढेको उनले बताए। कार्यालयले चालु आर्थिक वर्षमा रु १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको छ र सहज रूपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ। गत आर्थिक वर्षमा कार्यालयको आम्दानी लक्ष्य रु १५ करोड थियो।
हनुमानढोका घुम्न आउने पर्यटकबाट लिइने प्रवेश शुल्क नै कार्यालयको मुख्य आम्दानीको स्रोत हो। हाल सार्क राष्ट्रका पर्यटकका लागि रु ५०० र अन्य मुलुकका पर्यटकका लागि रु एक हजार प्रवेश शुल्क निर्धारण गरिएको छ। नेपाली नागरिकलाई प्रवेश शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनका लागि शुल्क लाग्ने गरेको छ।
पर्यटकीय मौसममा हनुमानढोका घुम्न दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन्। विशेषगरी भदौ, असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुन्छ। गत आर्थिक वर्षमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ र अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटकले हनुमानढोकाको अवलोकन गरेका थिए। चालु आर्थिक वर्षको हालसम्मको अवधिमा सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट एक लाख ४५ हजार ६२५ पर्यटकले अवलोकन गरिसकेका छन्। विगतका वर्षहरूमा जस्तो नभई यस वर्ष वैशाखमा पनि पर्यटकको सङ्ख्यामा कमी नआएको बताइएको छ। इन्द्रजात्राको समयमा भने अन्य समयको तुलनामा धेरै पर्यटक आउने गर्छन्।




