
सिमकोट (हुम्ला) । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया गर्भवती, पुष्पा बोहरा भण्डारीलाई सुत्केरी व्यथा लागेपछि आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार डेढ महिनाअघि नै सुत्केरी हुने समय भएकी पुष्पालाई आइतबारदेखि उच्च रक्तचापको समस्या देखिएको थियो। जिल्लामा उपचार सम्भव नभएपछि उनलाई प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो।
जिल्ला अस्पतालमा जाँच गर्दा पुष्पालाई उच्च रक्तस्राव मात्र नभई पेटमा रहेको बच्चाको बसाइ पनि असामान्य देखिएको थियो। बच्चा ठाडो हुनुपर्नेमा तेर्सो र टाउको अगाडि हुनुपर्नेमा साल अगाडि आएकोले जिल्लामा आवश्यक उपकरण, औजार र दक्ष जनशक्तिको अभावमा उनलाई थप उपचारका लागि सुर्खेत उद्धार गरिएको हो। भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था भएकाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको हो।
भण्डारीको उद्धार जिल्ला अस्पताल हुम्लाको सिफारिस, सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट सम्भव भएको हो। हेलिकोप्टरमार्फत सुर्खेत पुर्याइएलगत्तै उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। जनशक्ति र उपकरणको अभाव झेलिरहेको हुम्लाका सुत्केरी व्यथा लागेका गर्भवती महिलाहरूका लागि यो कार्यक्रम निकै उपयोगी साबित हुँदै आएको छ।