काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बालबालिकालाई दिँदै आएको पोषणभत्ता वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्। साथै, उनीहरूले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको समस्यालाई वार्तामार्फत तत्काल समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद रञ्जुकुमारी झाले बालबालिकाको पोषणभत्ता वृद्धि हुने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिइन्। सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको एक विद्यालयका कार्यालय सहयोगीमाथि भएको हातपातको घटनाप्रति आपत्ति जनाए। सांसद महेश बस्नेतले इलामका चिया किसानले युरिया मल नपाएको र किबीको उचित मूल्य नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद मीना तामाङ र मैना कार्कीले शिक्षकका समस्या समयमै वार्तामार्फत समाधान गर्नुपर्नेमा जोड दिए। सांसद मेनकाकुमारी पोखरेलले अभिभावकविहीन बालबालिकाका लागि आगामी नीति तथा कार्यक्रममा व्यवस्था गर्न माग गरिन्। सांसद योगेन्द्र मण्डलले शिक्षा ऐन छिटो ल्याउनुपर्ने बताए। सांसद रणकुमारी बलम्पाकी मगरले शिक्षक आन्दोलन बन्द गरी समाधान खोज्न सुझाव दिइन्। सांसद रणेन्द्र बराइलीले कर्मचारीले सर्वसाधारणलाई हैरानी दिने प्रवृत्ति नरोकिएकोमा आपत्ति जनाए। सांसद रमा कोइराला पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीको गैरजिम्मेवारीले सर्वसाधारणको जीवन जोखिममा परेको बताइन्। सांसद राजेन्द्रकुमार केसीले पूर्वाधार विकास वातावरणमैत्री नहुँदा खानेपानीका मुहान जोखिममा परेको बताउँदै ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम बजेट अभावले कार्यान्वयन हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए। सांसद रामहरि खतिवडाले गभर्नर नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउन माग गरे।
यसैगरी, सांसदहरू रामकुमार राई, रामकिशोर यादव, रुपा सोशी (चौधरी), रेखा शर्मा, लेखनाथ दाहाल, बिजुला रायमाझी र रोशन कार्कीले शिक्षकहरूसँग वार्ता गर्न ढिलाइ गर्न नहुने बताए।




