म्याग्दी। बेनी नगरपालिका–७ मङ्गलाघाटमा आज बिहान घरायसी विवादका क्रममा एक व्यक्तिले दाउरा प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलमा बस्ने राजु विकले दाउरा प्रहार गर्दा उनकी २७ वर्षीया श्रीमती भगवती विकको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको जानकारी दिए। घटनापश्चात् फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए।
प्रारम्भिक अनुसन्धान अनुसार घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका थिए, जसका कारण भगवतीको तत्कालै मृत्यु भएको थियो।




