देश

काठमाडौँ विश्वविद्यालय र नेपाल पोलिसी इन्स्टिच्युटबीच शैक्षिक तथा अनुसन्धान सहकार्य सम्झौता

पाटन (ललितपुर)। काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। धुलिखेलस्थित केयु र हेगस्थित एनपिआइले सोमबार ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टमा आयोजित कार्यक्रममा उक्त सम्झौता गरेका हुन्।

ग्लोबल इन्गेजमेन्ट विभागका प्रमुख डा दिनेश काफ्लेका अनुसार दुवै संस्थाले संयुक्त अनुसन्धान, प्रकाशन, अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थी आदानप्रदानमा सहकार्य गर्ने सहमति गरेका छन्। सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने र एकअर्काका अनुसन्धान तथा पहललाई समर्थन गर्ने प्रतिबद्धता पनि दुई संस्थाबीच भएको छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा केयुका उपकुलपति प्रा डा अच्युत वाग्लेले यो सम्झौताले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले विश्वविद्यालयको दीर्घकालीन अध्यापन र अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्राध्यापकलाई निमन्त्रणा गर्ने नीति रहेको र एनपिआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रममा योगदान पुर्‍याउन सक्ने बताए।

एनपिआइका सञ्चालक समितिका अध्यक्ष डा खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा ‘थिङ्क ट्र्याङ्क’ प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे। शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्यले दुवै संस्थाका कार्यलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे। डा ढकालले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रयोग गर्न मद्दत पुग्ने र यसले देशलाई फाइदा पुग्ने बताए। उनले सार्वजनिक क्षेत्र, विश्वविद्यालय र ‘थिङ्क ट्याङ्क’बीच त्रिपक्षीय सहकार्यको सान्दर्भिकता औँल्याए।

डा काफ्लेले केयु सन् १९९१ मा स्थापना भएको मुलुकको अग्रणी विश्वविद्यालय भएको र यसका केन्द्रीय तथा आङ्गीक क्याम्पसमा करिब २२ हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए। एनपिआइ सन् २०१७ मा नेदरल्यान्ड्समा स्थापित नीति अनुसन्धान संस्था हो र यसमा विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दा बढी प्रवासी विज्ञहरू आबद्ध छन्। यसअघि एनपिआइ र केयु स्कूल अफ म्यानेजमेन्टले सङ्घीय सरकारका अधिकारीहरूका लागि नेपाल नीति नेतृत्व कार्यक्रम (एनपिएलपी) लगायत विभिन्न पहलमा सहकार्य गरिसकेका छन्।

कार्यक्रममा विश्वविद्यालय र एनपिआइका उच्चपदस्थ अधिकारी तथा विज्ञहरूको सहभागिता थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *