
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संघीय शिक्षा ऐन लागू नभएसम्म शिक्षकहरूको आन्दोलन जारी रहने स्पष्ट पारेका छन्।
काठमाडौंको रत्नराज्य विद्यालयमा आज आकस्मिक बैठक बोलाइएको थियो, जहाँ सबै शिक्षकसम्बद्ध घटकहरूले आन्दोलन जारी राख्नुपर्ने सुझाव दिएका छन्। अध्यक्ष सुवेदीले बैठकपछि आन्दोलनलाई निरन्तरता दिने निर्णयमा आफूहरू अडिग रहेको बताएका हुन्।
आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र शिक्षकबीच झडप हुँदा ६५ जना शिक्षक तथा कर्मचारीहरु घाइते भएका थिए । अहिले उनीहरुको काठमाडौं उपत्यकाकै विभिन्न अस्पतालमा उपचार जारी छ । आन्दोलनका क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्कीको आँखामा गम्भिर चोट लागेको छ । अहिले उनको तिलगंगा अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सरकारको दमनकारी व्यवहारको विरोधमा महासंघले आकस्मिक बैठक आह्वान गरेको थियो। अध्यक्ष सुवेदीले वार्ताका लागि ढोका खुला रहेको जनाउँदै, तर ऐन नआएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्।