काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेविरुद्धको ठगी र संगठित अपराधसम्बन्धी मुद्दा सरकारी वकिलको हातमा पुगेको छ। पर्सा प्रहरीले अनुसन्धान सकाएर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार लामिछानेसहित ४१ जनालाई प्रतिवादी बनाइएको छ। दुई फरक मुद्दाको अनुसन्धानपछि विभिन्न कम्पनी र व्यक्तिमाथि कारबाहीको माग गर्दै प्रतिवेदन अगाडि बढाइएको हो।
प्रहरी प्रतिवेदनमा ३० जना व्यक्ति, तीनवटा सहकारी र आठवटा कम्पनी समावेश छन्। मुद्दामा २ अर्ब ३० करोड १४ लाख रुपैयाँभन्दा बढीको बिगो माग गरिएको छ। त्यसमध्ये करिब १ अर्ब १२ करोड रुपैयाँ कम्पनी तथा व्यक्तिबाट, र बाँकी रकम स्वर्ण लक्ष्मी, सुर्यदर्शन सहकारी र आसा एण्ड इन्टरनेशनल प्रालिबाट असुल गर्नुपर्ने दाबी गरिएको छ।
संसदीय छानबिन समितिको निर्देशनपछि पर्सा प्रहरीले लामिछानेविरुद्ध ठगी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी उजुरीका आधारमा कारबाही थालिएको हो।
पहिलो चरणमा ०८० सालको साउनमा ५२ जना, त्यसपछि भदौमा २०७ जना र ०८१ सालको फागुनमा १७९ जना पीडितहरूले सहकारीको रकम हिनामिना भएको भन्दै जाहेरी दिएका थिए।




