देश

सुदूरपश्चिमको मानव विकास सूचकांक सुधारका लागि ठोस योजना चाहिन्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मानव विकास सूचकांकमा निकै पछाडि परेको सुदूरपश्चिम प्रदेशको अवस्था सुधार गर्न आगामी बजेट र कार्यक्रमहरूमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज काठमाडौँमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री राणाले उक्त धारणा व्यक्त गरेकी हुन्।

उनले भनिन्, “प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ। मलाई लाग्छ, हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउन सकिने गरी हामीले आगामी योजना र कार्यक्रमहरू निर्माण गर्नुपर्छ र त्यसैबमोजिमको बजेटको व्यवस्था गर्नुपर्दछ।”

मन्त्री राणाले छरिएर बजेट विनियोजन गर्नुको सट्टा कुन समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भन्ने ठोस योजना बनाएर समयमै सम्पन्न गर्ने कार्ययोजना बनाउनुपर्ने सुझाव दिइन्।

उनले कृषि, पर्यटन र पूर्वाधार निर्माण सुदूरपश्चिमका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै कृषिजन्य उत्पादनलाई व्यावसायिक र आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन्। बसाइसराइँका कारण बाँझो जमिन बढ्दै गएकोले खेतीयोग्य जमिनको यकिन तथ्याङ्क लिएर आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउनुपर्ने उनको भनाइ थियो।

सुदूरपश्चिम धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि धनी रहेको उल्लेख गर्दै मन्त्री राणाले पर्यटन प्रवर्द्धन गर्न ‘हस्पिटालिटी’ लगायतका पर्यटकीय पूर्वाधार निर्माणमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कोशी प्रदेशले जस्तै आफ्ना सांस्कृतिक धरोहर र पर्यटकीय सम्पदाहरूलाई चिनाउन स्थानीय स्तरमा पनि पहल गर्नुपर्ने बताइन्।

मन्त्री राणाले पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न सामूहिक रूपमा लाग्नुपर्ने र यसबाट समग्र प्रदेश लाभान्वित हुन सक्ने विचार व्यक्त गरिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *