
मनाङ। नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी जस्तो प्राकृतिक विपद्बाट जोगाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले पूर्वसूचना प्रणाली स्वरूप साइरन जडान गरेको छ। गाउँपालिका र एचडिसिएसको सहकार्यमा करिब २६ लाख रुपैयाँको लागतमा साइरन जडान भएपछि स्थानीय बासिन्दा विपद्बाट बच्न सकिने आशामा खुसी भएका छन्।
विसं २०७८ असार १ गतेको भीषण वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका धेरै घरहरूमा क्षति पुर्याएको थियो र तालगाउँका धेरै परिवार लामो समयसम्म घरबारविहीन भएका थिए। नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार ६३ घरधुरी रहेको तालगाउँ मर्स्याङ्दी नदीको किनारमा अवस्थित भएकाले बाढीको उच्च जोखिममा छ। पटकपटक बाढीले ठूलो धनमालको क्षति बेहोरेका तालगाउँवासीले अब विपद् आउनुअघि नै सूचना पाउने भएका छन्।
वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडान भएपछि वर्षायाममा गाउँलेहरू ढुक्कसँग सुत्न सक्ने बताए। एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीका अनुसार लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट बचाउन धारापानीमा राखिएको एक स्वचालित यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ। पानीको सतह खतराको तह पार गर्नेबित्तिकै साइरन बज्ने र त्यसको सूचना मोबाइलमा एसएमएसमार्फत पनि आउने व्यवस्था गरिएको छ। विद्युत् र इन्टरनेट अवरुद्ध भएको अवस्थामा कटुवालमार्फत सूचना दिने व्यवस्था पनि मिलाइएको छ।
सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गरिने र त्यसका लागि मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ। यसअघिको बाढीमा पनि उक्त स्थानमा पानी पुगेको थिएन। साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी, स्वास्थ्य चौकी र स्थानीय बासिन्दालाई प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी एकदिने तालिम पनि प्रदान गरिएको थियो।