
काठमाडौं । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको ठगी काण्डमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईमाथि अनुसन्धानलाई थप गहिर्याउन म्याद थप गर्ने तयारी गरिएको छ।
शनिबार राति कपनस्थित आफ्नै निवासबाट पक्राउ परेकी राईलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेर थप म्याद लिइनेछ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार, म्याद थपपछि उनलाई विस्तृत अनुसन्धानका लागि हिरासतमा राखिनेछ।
यसअघि सहकारी ठगीको मुद्दा अदालतमा पुगे पनि राईको नाम प्रत्यक्ष रूपमा समावेश नभएकाले, अहिले नयाँ अनुसन्धानको आधारमा पुरक अभियोग लगाउने तयारी भएको प्रहरीको भनाइ छ।
राईलाई काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। दुई महिनाको लामो अनुसन्धानपछि प्रहरीले सांसद राई र अन्य व्यक्तिहरूविरुद्ध मुद्दा दायर गर्न सिफारिस गरेको थियो। तर, सरकारी वकिल कार्यालयले उनीसहित पाँच जनालाई अभियोगबाट उन्मुक्ति दिएको थियो।
स्वर्णलक्ष्मी सहकारीमा सहसचिवसमेत रहेकी राईमाथि ६९० जना बचतकर्ताको जम्मा एक अर्ब १९ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको गम्भीर आरोप लागेको छ।