देश

सहकारी ठगी प्रकरण: सांसद माया राई आज अदालतमा उपस्थित गराइने

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार साँझ कपनस्थित घरबाटै पक्राउ गरेको हो ।

रकम अपचलनमा मुद्दा चलाउन सिफारिस भइसकेकोले आइतबार नै अदालत उपस्थित गराउन लागिएको हो ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३/०७४ र आर्थिक वर्ष २०७४/०७५ देखि २०७५/०७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।

सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई सार्वजनिक कार्यक्रममा देखिएकी थिइनन् ।

यसैबीच प्रहरीले कांग्रेस सांसद राई पक्राउ परेको सूचना सभामुखलाई दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *