
खोटाङ। केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राई, जसले पाँच वर्षअघि बुबा गुमाए र शारीरिक तथा मानसिक रूपमा कमजोर आमा तथा तीन नाबालक भाइबहिनीको हेरचाहको जिम्मेवारी काँधमा लिएका छन्, अब नयाँ घरमा बस्ने भएका छन्। गत असारमा पहिरोले घर र सबै सम्पत्ति गुमाएको छितिजको परिवारलाई स्थानीयले चन्दा सङ्कलन गरी निर्माण गरेको नयाँ घर हस्तान्तरण गरिएको हो।
स्थानीय देवानसिं कोयी राईले निःशुल्क उपलब्ध गराएको जग्गामा करिब नौ लाख रुपैयाँको लागतमा ढुङ्गामाटोको गाह्रो र जस्तापाताको छाना भएको दुईतले घर निर्माण गरिएको हो। देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा र श्रमदानबाट बनेको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले जानकारी दिए।
कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट तीन लाख ५० हजार, बेलायतबाट एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए। घर निर्माणमा नगद र श्रमदान गरी नौ लाखभन्दा बढी खर्च भएको थियो।
घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाबाट उपलब्ध हुने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले छितिजको साहसको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरेका छन्। वडाध्यक्ष तेजकुमार राईले सबैको सहयोगले पहिरोपीडित छितिजको परिवारलाई पुनः स्थापित हुन सहज भएको बताए।