
काभ्रेपलाञ्चोक। ऐतिहासिक सहर बनेपामा नवदुर्गा जात्रा धुमधामका साथ मनाइँदै छ। शुक्रबारदेखि सुरु भएको तीन दिने जात्रामा विशेष गरी भैरव (देवगण) को परम्परागत ‘ङा–लाकेगु’ नाच प्रदर्शन भइरहेको छ। जात्राको पहिलो दिन बनेपा बजारका विभिन्न मन्दिरहरूमा विशेष पूजाअर्चना गरिएको थियो।
जात्राको मुख्य आकर्षण श्वेतभैरवको ‘ङा–लाकेगु’ नाच साँझपख सहरका डबलीहरूमा प्रस्तुत गरिन्छ। जात्रा अवधिभर स्थानीयले नवदुर्गाको प्रतीक मानिने ‘पासुका’ (रङ्गीचङ्गी धागोको माला) र ‘मोहनी’ (कालो टीका) धारण गर्छन्। जात्राको अन्तिम दिन देवगणले नवदुर्गाको भेषमा विशेष नाच प्रस्तुत गर्नुका साथै प्रतीकात्मक रूपमा ‘माछा मार्ने’ कार्य सम्पन्न गरेपछि जात्रा समापन हुन्छ।
जात्रा–संस्कृति अनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने धार्मिक विश्वास रहेको छ। तीन दिनसम्म नवदुर्गाले विभिन्न हाउभाउका साथ बनेपाका ऐतिहासिक डबलीहरूमा नृत्य प्रदर्शन गर्छन्। नवदुर्गाको आगमनमा स्थानीयले आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित स्वागत तथा पूजाअर्चना गरेका थिए। यस क्रममा श्रद्धालु भक्तजनले पञ्चबलि दिने र नवदुर्गा देवगणलाई भोजन गराउने परम्परा रहेको स्थानीय कान्छामान रञ्जितले जानकारी दिए।
बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनको अवसरमा हुने नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा सजिएका देवगणहरूको नाच हेर्न स्थानीयको ठूलो भीड लाग्ने गर्दछ। जात्राको क्रममा श्वेतभैरवले मान्छेरुपी माछा (स्थानीय व्यक्ति) लाई समात्न खोज्ने र जात्रामा सहभागी स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने अनौठो चलन छ। यसरी भागेकाहरूलाई श्वेतभैरवले पक्रन खोज्दा देवगणद्वारा समातिएमा ‘अपसकुन’ हुने जनविश्वासका कारण मानिसहरू भागाभाग गर्छन्।
नवदुर्गा जात्रा बनेपाका साथै काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुर लगायतका स्थानमा पनि मनाउने प्रचलन छ। बनेपामा जात्रा सम्पन्न भएपछि नवदुर्गा पनौती प्रस्थान गर्ने मान्यता रहेको छ। रञ्जितका अनुसार नवदुर्गा जात्राको मुख्य आकर्षण ‘ङा लाकेगु’ अर्थात् माछा मार्ने जात्रा हो। यो जात्रामा विभिन्न परम्परागत बाजागाजाको तालमा देवगणहरूले विशेष नृत्य प्रस्तुत गर्छन्। माछा मार्ने जात्रा सुरु हुनुअघि दक्षिणा माग्ने चलन छ र त्यसपछि ‘ङा–लाकेगु’ को विशेष प्रस्तुति हुन्छ। यस जात्रामा ‘दुम्ब’ ले पहिलो पटक माछा मार्ने जात्रा गर्दछ र जात्रामा सहभागी युवा लगायत मानिसहरूलाई देवताले लखेट्ने गर्छन्। यसरी लखेट्दा दुम्बदे समात्यो भने अशुभ हुने जनविश्वास रहेको छ।