देश

चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्य प्रतिवेदन सार्वजनिक, पाँच क्षेत्र प्राथमिकतामा

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाले आफ्नो दिगो विकास लक्ष्यको स्थानीय स्वैच्छिक मूल्याङ्कन प्रतिवेदन (नेपाली संस्करण) र कार्ययोजना ढाँचा सार्वजनिक गरेको छ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यसअघि नै यो प्रतिवेदन संयुक्त राष्ट्र सङ्घमा प्रस्तुत गरिसक्नुभएको छ। नगरपालिकाले दिगो विकासका लक्ष्यहरूमध्ये राम्रो स्वास्थ्य र समृद्धि, समावेशी तथा समानतामूलक गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ खानेपानी, सरसफाइ र दिगो शहर तथा समुदाय जस्ता पाँचवटा क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ।

नगरप्रमुख गिरीले यी प्राथमिकता प्राप्त लक्ष्य हासिल गर्न नगरपालिकाका कार्यक्रमहरू सही दिशामा अघि बढेको बताए। नगरपालिकाले दिगो विकास लक्ष्यसँग मिल्दो बजेट प्रणाली पनि सुरु गरिसकेको छ, जसलाई एसिया प्रशान्त क्षेत्रमै नयाँ अभ्यास मानिएको छ।

नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा नगरप्रमुख गिरी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर र युएन ह्याविट्याटका प्रतिनिधि प्रज्ञा प्रधानले संयुक्त रूपमा प्रतिवेदन र कार्ययोजना सार्वजनिक गरेका थिए।

सो अवसरमा नगरप्रमुख गिरीले भौतिक पूर्वाधारसँगै आर्थिक, सामाजिक र प्रविधियुक्त समाज नै समृद्धिको आधार भएको बताए। प्रमुख प्रशासकीय अधिकृत थापा मगरले दिगो विकास लक्ष्य प्राप्तिका लागि नगरका नीति, कार्यक्रम र बजेट केन्द्रित रहेको जानकारी दिए। युएन ह्याविट्याटका प्रतिनिधि प्रधानले प्रतिवेदनको महत्वबारे प्रकाश पारेकी थिइन्। कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरूको उपस्थिति थियो।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *