देश

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण

त्रिशूली (नुवाकोट)। विनाशकारी गोरखा भूकम्प गएको १० वर्ष बितिसक्दा पनि नुवाकोट दरबार क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक संरचनाहरूको पुनर्निर्माणले गति लिन सकेको छैन। भूकम्पले क्षति पुर्‍याएको दुर्गरत्न (साततले दरबार) लगायतका सम्पदा पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ टोलीको ढिलाइका कारण काम अझै सम्पन्न हुन सकेको छैन।

नेपाल सरकारसँगको सम्झौताअनुसार पुनर्निर्माणको जिम्मेवारी पाएको चिनियाँ टोली बल्ल विदुर नगरपालिका-२ स्थित कार्यक्षेत्रमा फर्किएर काम सुरु गर्ने तयारीमा जुटेको छ। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनील पाण्डेका अनुसार साततले दरबारसहितका संरचनाको पुनर्निर्माण, जीर्णोद्वार र संरक्षणको काम प्राविधिक आवश्यकताअनुसार अघि बढाइनेछ।

प्रमुख पाण्डेले भने, “दरबार पुनर्निर्माणको काममा सोचेजस्तो प्रगति नभए पनि अहिले कामले गति लिएको छ। गत भदौदेखि चिनियाँ प्राविधिकसहितको टोलीले काम थालेको छ।”

चीन सरकारले भूकम्पले क्षति पुर्‍याएका संरचना पुनर्निर्माणमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत नुवाकोट दरबार क्षेत्रका आठवटा धार्मिक तथा पुरातात्विक महत्वका संरचना पुनर्निर्माणको जिम्मा लिएको छ। यसका लागि चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजलाई पुनर्निर्माणको जिम्मेवारी दिइएको छ।

पुरातत्व विभाग र चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेजबीच २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। नयाँ सहमतिपछि चिनियाँ पक्ष काम अघि बढाउन सकारात्मक देखिएको छ, यद्यपि थप समयसीमा तोकिएको छैन।

चिनियाँ पक्षले पहिलो चरणमा साततले दरबार र तुलजा भवानीको मन्दिर पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ। चिनियाँ प्राविधिकहरूको अध्ययनअनुसार दुवै संरचनाको जीर्णोद्वार गरिनेछ। अन्य गारदघर, रङ्गमहल, लामपाटी, शीतलपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण र संरक्षणका लागि प्राविधिक अध्ययन भइरहेको छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि साततले दरबार निर्माण गरेका थिए। काठमाडौं उपत्यका जित्नुअघिसम्म उनले नुवाकोट दरबारबाटै शासन चलाएका थिए र यसलाई राज्यको मुख्य प्रशासनिक केन्द्र बनाएका थिए।

२०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको यो ऐतिहासिक दरबार क्षेत्रको पुनर्निर्माणको जिम्मा लिएको चिनियाँ पक्ष २०७६ असारमा काम सुरु गर्न आए पनि टेको लगाएर फर्किएको थियो। हाल नुवाकोट दरबार र तुलजा भवानीको मन्दिरको प्रवलीकरणको काम अघि बढाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *