देश

लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ दुर्घटना, ३६ को मृत्यु

तुलसीपुर (दाङ)। लुम्बिनी प्रदेशमा गत चैत महिनामा मात्रै ४०२ वटा सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीका अनुसार यी दुर्घटनाहरूमा परी ३६ जनाले ज्यान गुमाएका छन्।

यद्यपि, फागुन महिनाको तुलनामा चैतमा दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ। फागुनमा ३९ जनाको मृत्यु भएको थियो। चैत महिनाको दुर्घटना तथ्यांक अनुसार, रूपन्देही र दाङमा सबैभन्दा बढी १०-१० जनाको मृत्यु भएको छ। पाल्पा, रोल्पा र रुकुमपूर्वमा भने कसैको पनि मृत्यु भएको छैन। बाँकेमा सात, कपिलवस्तु, बर्दिया, नवलपरासी पश्चिम र अर्घाखाँचीमा तीन-तीन जनाको मृत्यु भएको छ। त्यस्तै, प्यूठानमा दुई र गुल्मीमा एक जनाले ज्यान गुमाएका छन्। दुर्घटनाहरूमा परेर ७४५ जना घाइते भएका छन्।

प्रदेश प्रहरी प्रमुख कार्कीले दुर्घटनामा पर्ने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको जानकारी दिएका छन्। कुल दुर्घटनाको ६० प्रतिशत मोटरसाइकल दुर्घटना हुने गरेको छ। अन्य सवारी साधनमध्ये बस ४.३६ प्रतिशत, कार र जीप ८.७१ प्रतिशत, ट्रक तथा ट्याङ्कर २.६१ प्रतिशत, माइक्रो १.२२ प्रतिशत, टिपर १.९२ प्रतिशत, ट्रयाक्टर ४.७० प्रतिशत, ट्याम्पो ७.४९ प्रतिशत र साइकल ८.०१ प्रतिशत दुर्घटनामा परेका छन्।

प्रहरी प्रमुख कार्कीले सडकको अवस्था र चालकको लापरबाहीका कारण धेरै दुर्घटनाहरू हुने गरेको बताए। लुम्बिनी प्रदेशका धेरै स्थानमा सडक स्तरोन्नति हुन नसकेको र खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको उनको भनाई छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *