
भक्तपुर। चाँगुनारायण नगरपालिकाले आफ्ना नागरिकलाई स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नगर अस्पतालमा थाइराइड र शरीरमा हुने विभिन्न भिटामिनको कमीको परीक्षण सेवा सुरु गरेको छ।
यसअघि थाइराइड परीक्षण र औषधिका लागि भक्तपुर तथा काठमाडौंका अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रम अन्तर्गत प्रदान गरेको रु १० लाख बराबरको क्लिया एनालाइजर मेसिन र रिएजेन्ट मेसिनपछि यो सेवा विस्तार भएको हो।
कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए। कार्कीले गुणस्तरीय सेवा विस्तारमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे भने खत्रीले यस सहयोगले नगर अस्पताललाई थप प्रविधिमैत्री बनाउन सहज भएको बताए। अब नगरवासीले यी सेवा लिन टाढा जानु नपर्ने उनको भनाई छ।
चाँगुनारायण नगरपालिकाले यसअघि नै निःशुल्क अक्सिजन वितरण, प्रसूति लगायत अधिकांश सेवा अस्पतालमै विस्तार गर्नुका साथै अस्पताल आउन नसक्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। नगरप्रमुख खत्रीले चाँगुनारायण अस्पताललाई सुविधासम्पन्न बनाउँदै लगिएको बताए।