
नुवाकोट । बेलकोटगढी नगरपालिकालाई आगामी एक आर्थिक वर्षभित्र बालमैत्री स्थानीयतह र बालश्रम मुक्त पालिका घोषणा गर्ने तयारी थालिएको छ। नगरपालिकाले यस लक्ष्यलाई कार्यान्वयन गर्न वार्षिक नीति तथा कार्यक्रम र बजेटलाई प्राथमिकता दिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।
गुरुङका अनुसार, नगरपालिकाका प्रत्येक वडामा एक–एक जना गणकलाई घरधुरी सर्वेक्षणका लागि एक महिनाको समयसीमा दिइएको छ। उनीहरूले नगरवासीको प्रत्येक घरमा पुगेर करिब १४० वटा प्रश्नावलीमा आधारित तथ्याङ्क संकलन गर्नेछन्।
नगर उपप्रमुख शिवप्रसाद दाहालले यसअघि बालमैत्री स्थानीयतहसँग सम्बन्धित बजेट विनियोजन र त्यसको कार्यान्वयन, विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिलाई तथ्याङ्कको रूपमा तयार पार्न लागिएको बताए। उनले उपमेयरसँग बालबालिका लगायतका कार्यक्रममार्फत भएका उपलब्धिहरूलाई पनि समेटिने र अपुग प्रगतिलाई आगामी बजेटमार्फत सम्बोधन गरी बेलकोटगढीलाई बालमैत्री र बालश्रम मुक्त पालिका घोषणा गरिने जानकारी दिए।
यस कार्यलाई अगाडि बढाउन नगरप्रमुख जगतबहादुर गुरुङको संयोजकत्वमा एकीकृत रूपमा बालश्रम मुक्त स्थानीयतह घोषणा कार्यविधि २०७७ को दफा १७ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ को दफा ७ बमोजिम स्थानीय समन्वय/सहजिकरण समिति गठन गरिएको छ। समितिको पहिलो बैठक बुधबार नगरपालिकाको कार्यालयमा सम्पन्न भएको सदस्य सचिव हरिप्रसाद गजुरेलले जानकारी दिए।
गजुरेलका अनुसार, समितिको बैठकले घरघरमा तथ्याङ्क संकलनका लागि गणक परिचालन गर्ने, पालिकाका विभिन्न शाखाहरूबाट आवश्यक विवरण अद्यावधिक गर्ने र प्राप्त तथ्याङ्कको समीक्षा गर्दै थप सुधार तथा सञ्चालन गर्नुपर्ने कार्यक्रमका लागि योजना तथा बजेटको व्यवस्था गरी आगामी आर्थिक वर्षभित्र बेलकोटगढी नगरपालिकालाई बालमैत्री स्थानीयतह र बालश्रम मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ।