सम-सामयिक

चिम्टेश्वरमा महादेव मन्दिर निर्माण सुरु, नगरप्रमुख गुरुङद्वारा शिलान्यास

बेलकोटगढी । बेलकोटगढी नगरपालिका–२ स्थित चिम्टेश्वरमा आज चिम्टेश्वर महादेव मन्दिरको शिलान्यास गरिएको छ। बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले क्षमा पूजासहित आयोजित एक समारोहमा मन्दिरको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामचन्द्र तिमल्सिना, वडा नम्बर ३ का वडा अध्यक्ष कौशिला पुडासैनी, नगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला र निर्माण व्यवसायीलगायतको उपस्थिति रहेको थियो।

मन्दिर निर्माण सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। उक्त मन्दिर निर्माणका लागि तत्कालीन पर्यटनमन्त्री माननीय हितबहादुर तामाङले रु दुई करोड बजेट विनियोजन गरेका थिए।

पुरातत्त्व विभागको डिजाइन अनुसार निर्माण हुने मन्दिर तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीका प्रमुखले व्यक्त गरेका छन्। यस्तै, समयमै निर्माण सम्पन्न गराउन नगरपालिकाले आवश्यक सबै सहयोग उपलब्ध गराउने नगरप्रमुख जगतबहादुर गुरुङले बताए।

स्थानीयवासीहरूले मन्दिर निर्माणलाई स्वागत गर्दै धार्मिक, सांस्कृतिक र आर्थिक दृष्टिले यो योजनाले नगरको पहिचान थप उजागर गर्ने विश्वास व्यक्त गरेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *