देश

कञ्चनपुरको करोडौंको सभागृह सात वर्षदेखि प्रयोगविहीन

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा निर्माण सम्पन्न भएको सुविधा सम्पन्न सभागृह निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन। विसं २०७५ मा निर्माण सम्पन्न भएको तीन तले सभागृहमा तीनवटा हल, चेन्जिङ रुम र अन्डरग्राउण्ड पार्किङको सुविधा रहेको छ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेको यो सभागृह अहिले भीमदत्त नगरपालिकाको मातहतमा छ। तर, नगरपालिकाले यसलाई सञ्चालनमा ल्याउन कुनै ठोस पहल नगरेको स्थानीयवासीको गुनासो छ। निर्माण सम्पन्न भएको लामो समयसम्म प्रयोगविहीन रहँदा सभागृह जीर्ण बन्दै गएको छ।

स्थानीय विष्णुप्रसाद जोशीले तत्कालीन नगर विकास समितिले जुन उद्देश्यले सभागृह निर्माण गरेको हो, सोही अनुरूप सञ्चालनमा आउनुपर्ने बताए। उनले राज्यको करोडौं लगानी भएको संरचना प्रयोगविहीन बन्नु दुर्भाग्यपूर्ण भएको र कञ्चनपुरमा ठूला कार्यक्रम सञ्चालन गर्न समस्या भइरहेको उल्लेख गरे।

अर्का स्थानीय टेक सिंह नायकले सभागृहको कतिपय भागमा भवन चर्किनुका साथै ढोका र झ्यालहरू फुटेको जानकारी दिए। उनले सभागृह सञ्चालन गर्ने दायित्व नगरपालिकाको भएकोले यसका लागि तत्काल पहल गर्नुपर्ने माग गरे।

यद्यपि, भीमदत्त नगरपालिकाले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ। नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह सञ्चालनका लागि मापदण्ड तयार गरी नगर विकास समितिको बैठकबाट पारित गर्नुपर्ने बताए। तर, नगर विकास समितिको बैठक नियमित बस्न नसकेको उनको भनाइ छ। यसअघि नगरपालिकाले सभागृह सञ्चालनका लागि समिति गठन गरी अध्ययन गरेको थियो र उक्त समितिले कार्यविधि बनाएर नगरपालिकालाई बुझाइसकेको छ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघा क्षेत्रफलमा निर्मित अपाङ्गमैत्री सभागृहमा एक हजार जना अट्ने क्षमता छ। २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा ठेक्का सम्झौता भएको थियो। तर, निर्माणका क्रममा इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु एक करोड ७० लाखले बढेर रु आठ करोड ५१ लाख पुगेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *