नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको छ। जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुषालका अनुसार डेढ महिनादेखि विद्युत् उत्पादन रोकिएको हो।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित गण्डक ब्यारेजबाट नहरको पानी बन्द भएपछि विद्युत् उत्पादन ठप्प भएको हो। भारतले जलविद्युत् केन्द्रको नहर बन्द (क्यानल सटडाउन) गरेपछि उत्पादन रोकिएको भुषालले बताए। गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनले जानकारी दिए।
प्रत्येक वर्ष लामो समयसम्म नहरमा पानी बन्द गर्ने चलन रहेको छ। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको यो केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने अधिकार भारतीय पक्षसँग छ। भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै पानी बन्द गरेको प्रमुख भुषालले बताए। भारतीय पक्षले हरेक वर्ष कार्तिक–मङ्सिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको र यसले नेपाललाई घाटा हुने गरेको उनको भनाइ छ।
नहरमा पानी बन्द हुँदा विद्युत् उत्पादन ठप्प भएपछि दैनिक सातदेखि आठ लाख रुपैयाँसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए। १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको यो जलविद्युत् केन्द्रले अहिले चारदेखि साढे चार मेगावाटसम्म मात्र विद्युत् उत्पादन गरिरहेको छ। तीनवटा टर्वाइनमध्ये दुईवटा मात्र सञ्चालनमा छन् भने एउटा बिग्रिएर थन्किएको छ। गण्डक जलविद्युत् केन्द्रमा रहेका विद्युतीय उपकरण पुरानो प्रविधिको भएकाले परिवर्तन गरी सुधार गर्नुपर्ने देखिएको उनले बताए।




