कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले कृषि पेसामा संलग्न दुई हजार ५५२ घरधुरीका किसानलाई सूचीकृत गरेको छ। किसानहरूलाई उपलब्ध गराइने अनुदान र सहायता प्राप्त गर्नका लागि यो सूचीकरण गरिएको हो।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरका अनुसार किसान सूचीकरण संकेत नम्बर भएका किसानहरूलाई मात्रै अनुदान लगायतका कार्यक्रममा समावेश गरिनेछ। यसैकारण सूचीकरणको कार्यलाई तीव्रता दिइएको उनले बताए।
उनले जानकारी दिए अनुसार हाल नगरपालिकाको वडा नम्बर १, ११ र १२ मा किसान सूचीकरण सम्पन्न भएको छ। जसअनुसार वडा नम्बर १ मा ४६८, वडा नम्बर ११ मा एक हजार २१ र वडा नम्बर १२ मा एक हजार ६३ गरी कुल दुई हजार पाँच सय ५२ घरधुरी सूचीकृत भएका छन्।
आगामी आर्थिक वर्षमा नगरपालिकाका वडा नम्बर २, ३, ४, १० र ५ मा पनि किसान सूचीकरण कार्य गरिने योजना रहेको बुढाऐरले बताए। कृषि विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई परिचालन गरी यो सूचीकरण कार्य सम्पन्न गरिएको उनको भनाइ छ।
“सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुनेछ। किसानहरूलाई उनीहरूको खेतीको आकारका आधारमा ठूलो र सानो गरी वर्गीकरण गर्न सकिनेछ। यस वर्गीकरणका आधारमा अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न मद्दत पुग्नेछ,” बुढाऐरले भने, “सूचीकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न सकिन्छ।”




