अदानचुली (हुम्ला) । अविरल वर्षापछि आएको बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड पुनः सञ्चालनमा आएको छ। यही वैशाख ४ गते परेको मुसलधारे पानीसँगै आएको पहिरोले सडक भत्काएपछि यातायात सेवा ठप्प भएको थियो।
गाउँपालिकाले जेसीबी प्रयोग गरी लगातार मर्मत गरेपछि उक्त सडक खण्ड आज बिहानदेखि सुचारु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद बुढाले जानकारी दिए।
कर्णाली करिडोरबाट गाउँपालिकाको केन्द्र जोड्ने यो एक मात्र महत्वपूर्ण सडक अवरुद्ध हुँदा गल्फागाड लगायतका क्षेत्रमा यात्रा गर्ने नागरिकलाई निकै कठिनाइ भएको थियो। एक हप्तासम्म यातायात ठप्प हुँदा गाउँमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको स्थानीय व्यवसायी नवराज महताराले बताए। यसका साथै पालिकाका विभिन्न व्यवसाय र निर्माण कार्यका लागि सामग्री ढुवानी गर्ने मालबाहक ट्रकहरू पनि गल्फागाडमै रोकिएका थिए, जो आज गाउँपालिकाको केन्द्रमा आइपुगेका छन्।
एक हप्तासम्म सडक बन्द हुँदा पालिकामा विभिन्न सामग्रीको अभाव बढ्न थालेको थियो। सडक पुनः सञ्चालनमा आएसँगै व्यवसायीदेखि उपभोक्तासम्म सबैलाई राहत मिलेको छ। यसअघि नेपालगञ्ज र सुर्खेत लगायतका शहरी क्षेत्रमा जानका लागि स्थानीयहरू दुई घण्टाको पैदल यात्रा गरी कर्णाली करिडोरमा पुगेर मात्र बस चढ्न बाध्य थिए। यो बाध्यता अब हटेको छ।




