गण्डकी प्रदेश

मुस्ताङ कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम सुरु

मुस्ताङ । जिल्ला कारागारका कैदीबन्दीहरूको सीप विकास, आयआर्जन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सिलाइकटाइ तालिम सुरु गरिएको छ। पर्यटन तथा उद्योग कार्यालयको आयोजनामा आजदेखि एक महिनासम्म सञ्चालन हुने तालिममा पुरुष कैदीबन्दीहरूको सहभागिता रहनेछ।

कारागार शाखा मुस्ताङका निमित्त प्रमुख लालबाबु सहनीका अनुसार पर्यटन तथा उद्योग कार्यालयको आर्थिक सहयोग र कारागार शाखाको व्यवस्थापनमा १० जना पुरुष कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिइनेछ। कारागारमा रहेका कुल १२ जना कैदीबन्दीमध्ये दुई जना वृद्ध भएका कारण तालिममा सहभागी हुन नसकेको उनले बताए।

कैदीबन्दीहरूलाई तालिम दिनका लागि पर्यटन तथा उद्योग कार्यालयले एक जना प्रशिक्षकसहित सिलाईकटाइसम्बन्धी आवश्यक सामग्रीहरू उपलब्ध गराएको कार्यालय प्रमुख प्रेम पौडेलले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले संयुक्त रूपमा आज तालिमको उद्घाटन गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *