
काठमाडौँ। भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको मुक्तिनाथको धार्मिक यात्राले नेपालको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका भारतीय मन्त्री खट्टरले बुधबार मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका थिए।
मुक्तिनाथ दर्शनपछि ऊर्जामन्त्री खड्काले यो भ्रमणले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाएको बताए। उनले भारतीय विद्युतमन्त्री खट्टरको मुक्तिनाथ भ्रमणले नेपालको धार्मिक पर्यटनलाई उल्लेखनीय रूपमा टेवा पुर्याएको विश्वास व्यक्त गरे।
“धार्मिक सहिष्णुता र दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हाम्रो साझा विश्वासलाई यस किसिमको यात्राले अझ सुदृढ बनाएको छ। यस्ता अवसरहरूले दुई देशबीचको मित्रता र सहयोगको भावनालाई अझ प्रगाढ बनाउँदै लैजानेछ,” मन्त्री खड्काले भने।
भारतीय विद्युतमन्त्री खट्टरले नेपाललाई धार्मिक तथा ऐतिहासिक रूपमा पवित्र भूमिको संज्ञा दिँदै मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्दा आफूले अतुलनीय आनन्द महसुस गरेको बताए। उनले धार्मिक पर्यटनको क्षेत्रमा नेपालले विशेष ध्यान दिन सकेमा यसले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपालको एक प्रमुख धार्मिक गन्तव्यको रूपमा रहेको मुक्तिनाथ मन्दिरले भारतलगायत अन्य मुलुकका पर्यटकहरूलाई पनि आकर्षित गरिरहेको छ। यस प्रकारका उच्चस्तरीय भ्रमणहरूले धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्नुका साथै नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दुई दिने नेपाल भ्रमण सम्पन्न गरी भारतीय विद्युतमन्त्री खट्टर बुधबार साँझ स्वदेश फर्किएका छन्।