
काभ्रेपलाञ्चोक । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगतको मौज्दात शून्यमा पुगेको छ। बिरामीहरूका लागि रगत लिन आज केन्द्रमा पुगेका स्थानीय नागरिक तथा अस्पतालका प्रतिनिधिहरू रित्तो हात फर्कन बाध्य भएका छन्। केन्द्रले एक यूनिट रगत पनि उपलब्ध गराउन नसकेको जनाएको छ।
केन्द्रका स्टोर इन्चार्ज गोकुल बानियाँका अनुसार केन्द्रमा केही दिनदेखि नै रगतको अभाव छ। “केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट लगातार माग भइरहेको छ,” उनले भने। बिहीबार बिहानैदेखि रगतका लागि केन्द्रमा निरन्तर फोन आइरहेको उनले बताए। सात सय यूनिट रगत भण्डारण क्षमता भएको केन्द्रमा रगत नहुँदा गम्भीर समस्या उत्पन्न भएको छ।
जिल्लामा नियमित रक्तदाता नहुनु र रक्तदान कार्यक्रमहरू कम हुनुले रगतको अभावलाई थप बढाएको रेडक्रस काभ्रेले जनाएको छ। रगत दान गर्नेको तुलनामा रगत लिनेको संख्या बढेपछि अभाव चुलिएको हो।
केन्द्र प्रमुख राधा थापाले हाल रगतको अभाव पूर्ति गर्न कठिनाइ भइरहेको बताइन्। “कहिलेकाहीँ सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ,” उनले भनिन्। केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभ’, ‘एबी–पोजेटिभ’ र ‘ओ–पोजेटिभ’ लगायत सबै प्रकारको रगतको माग रहेको छ। रगत अभावका कारण बिरामीहरू उपचारमा समस्या झेलिरहेका छन्।
काभ्रेमा रगत अभाव भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंंबाट रगत आपूर्ति गर्नुपर्ने बाध्यता थियो। तर पछिल्ला दिनहरूमा ती दुई जिल्लामा पनि रगत अभाव भएको खबर प्राप्त भएको स्टोर इन्चार्ज बानियाँले बताए। जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जनभन्दा बढी क्लिनिक सञ्चालनमा छन्। जहाँ सामान्यदेखि विशिष्ट खालका शल्यक्रियाहरू समेत हुने गरेका छन्। शल्यक्रियाका क्रममा रगतको अत्यावश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यक पर्ने समूहको रगत नहुँदा अस्पताल र बिरामीका आफन्त दुवैलाई समस्या हुने गरेको छ।
काभ्रेका अस्पतालहरूमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरका साथै मधेश र भित्री मधेशका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउँछन्। अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि रगत अभावको समस्या झनै गहिरिएको छ।