खेलकुद

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न

चितवन । चितवनको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ ।

 

धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिई काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलान सम्पन्न गरिएको छ ।

 

अर्को ढलानको तयारीमा छ । दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदै छ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ०८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए ।

छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनले बताए ।

गत साउनमा बिबिआर जेभीले निर्माण सुरु गरेको हो । वि.सं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो ।

गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड उपलब्ध गराइसकेका छन् ।

प्रदेश सरकारले ७० प्रतिशत र सङ्घीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो ।

अन्तरराष्ट्रियस्तरको मापदण्डअनुसार रङ्गशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तरराष्ट्रियस्तरका खेल आयोजना गर्न सकिने छ ।

त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० विघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ ।

गर्मी भएकाले साँझ र रात्रिकालीन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताइन् । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिइन् । सम्झौता अवधिभित्रै काम सम्पन्न हुनेमा विश्वस्त रहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *