मुख्य समाचार

पाकिस्तानविरुद्ध एक्सनमा भारत: भिसा रद्धदेखि एकीकृत चेक पोस्ट बन्द गर्ने निर्णय

काठमाडौँ । भारतको दक्षिण कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा निर्णय लिएको छ ।

 

भारतीय खुफिया एजेन्सीहरूले उक्त आक्रमणमा पाकिस्तानी आतंककारी संगठन लश्कर-ए-तोयबाको संलग्नता पुष्टि गरेपछि भारतले यस्तो एक्सन लिएको हो ।

बुधबार बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले भारतमा पाकिस्तानी नागरिकलाई भिसा दिन रोक लगाउदै हाल भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टा भित्र देश छोड्न निर्देशन दिइएको छ ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार एकीकृत चेक पोस्ट अटारी तत्काल प्रभावबाट बन्द गरिनेछ । वैध माध्यमबाट सीमा पार गरेका व्यक्तिहरू १ मे २०२५ अघि त्यो बाटो भएर फर्कन सक्ने छन् ।

त्यस्तै पाकिस्तानी नागरिकहरूलाई सार्क भिसा छुट योजना (एसपपीइएस) अन्तर्गत भारत यात्रा गर्न अनुमति दिइने छैन । विगतमा पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको कुनै पनि एसपपीइएस भिसा रद्द मानिनेछ । एसपीइएस भिसा अन्तर्गत भारतमा हाल रहेका कुनै पनि पाकिस्तानी नागरिकलाई भारत छोड्न ४८ घण्टाको समय दिइएको छ ।

नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका रक्षा, सैन्य, नौसेना र हवाई सल्लाहकारहरूलाई अस्वीकृत व्यक्ति घोषित गरिएको छ । उनीहरूलाई भारत छोड्न एक हप्ताको समय दिइएको छ । त्यस्तै भारतले इस्लामाबादस्थित भारतीय उच्चायोगबाट आफ्ना रक्षा, नौसेना र हवाई सल्लाहकारहरूलाई फिर्ता बोलाउनेछ । सम्बन्धित उच्चायोगहरूमा यी पदहरू रद्द हुनेछन् । उच्च आयोगका कर्मचारीको संख्या ५५ बाट घटाएर ३० गरिने भएको छ ।

साथै बैठकले १९६० मा पाकिस्तानसँग गरिएको सिन्धु जल सम्झौता निलम्बित गरेको छ । यो सम्झौता पाकिस्तानले सीमा क्षेत्रको आतंकवादलाई रोक्न विश्वसनीय ढंगले काम नगरेसम्म निलम्बित नै रहने भारतले निर्णय गरेको छ ।

भारतले समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सीमामा सबै सुरक्षा बलहरूलाई उच्च सतर्कता कायम राख्न निर्देशन दिएको छ । साथै यस आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउने र उनीहरूका प्रायोजकहरूलाई जवाफदेही बनाउने निर्णय समेत गरेको विदेश सचिव मिश्रीले जानकारी दिएका छन् ।

मंगलबार पहलगाममा भएको आतंकवादी हमलामा २५ भारतीय र एक नेपाली नागरिकको मृत्यु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *