देश

पहिरोले अवरुद्ध उत्तर दक्षिण कोशी राजमार्ग १० घण्टापछि सञ्चालन

किमाथांका।उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्ड सञ्चालन भएको छ ।

पहिरो हटाएपछि अवरुद्ध यातायात झण्डै १० घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान ६ः३० बजे अविरल वर्षासँगै आएको बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

खाँदबारी–भोटखोला सडकखण्डको मकालु गाउँपालिका–३ आलफाट्टेमा स्काभेटर पहिरो हटाएपछि आज दिउँसो ४ बजेदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उत्तर दक्षिण कोशी सडक कार्यालयको स्काभेटरको सहयोगमा पहिरो हटाएर सडक सञ्चालन गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। रातभरको वर्षापछि आएको बाढीले खाँदबारी–भोटखोला सडक खण्डको कच्ची सडक बगाएको थियो ।

सो क्षेत्रमा लगातार पहिरो खसिरहने भएका कारण बेलाबेला राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । भोटखोलाका लागि सदरमुकाम खाँदबारीबाट दैनिक एक दर्जनभन्दा बढी साना तथा ठूला सवारिसाधन आवतजावत गर्ने गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *