
काठमाडौं। नेपाली कांग्रेसले भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आतङ्कवादी आक्रमणको घोर निन्दा गरेको छ। उक्त हृदयविदारक र क्रूर घटनामा एक नेपाली सहित कम्तीमा २६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्कवादी घटनाको पार्टीले सदैव निन्दा र भर्त्सना गर्ने बताएका छन्। उनले यस दुःखद क्षणमा भारत सरकार र भारतीय जनताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दै मृतकका परिवारजन, भारत सरकार र भारतीय जनताका साथ नेपाली कांग्रेस रहेको विश्वास दिलाउन चाहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा आक्रमणमा परी निधन भएका सबैप्रति हृदयदेखि हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि कांग्रेसले गरेको छ।
यसैगरी, उक्त घटनामा परी निधन भएका नेपाली नागरिक, रूपन्देही बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेको शवलाई नेपालमा ल्याई मृतकका परिवारलाई बुझाउनका लागि सरकारले तुरुन्त कूटनीतिक पहल सुरु गर्न र मृतकका परिवारलाई उचित सहयोग पु¥याउन नेपाली कांग्रेसले सरकारसँग जोडदार आग्रह गरेको छ।