कर्णाली प्रदेश

२१ महिनादेखि तलब नपाएपछि खाँडाचक्र नगरपालिका बन्द, करार कर्मचारीको तालाबन्दी

काठमाडौं । झण्डै दुई वर्षदेखि तलब नपाएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका करार कर्मचारीले आक्रोश पोख्दै नगरपालिकाको मूलगेटमा तालाबन्दी गरेका छन्। तालाबन्दीपछि नगरपालिका पूर्ण रूपमा ठप्प भएको छ।

१२६ मध्ये १२१ करार कर्मचारीले आफूहरूले तलब नपाएको गुनासो गरेका छन्। वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेका अनुसार, केवल ५ जनालाई मात्रै तलब दिइएको छ, बाँकी १२१ जनाले २१ महिनादेखि एक रुपैयाँ पनि नपाएको बताएका छन्। तीमध्ये २१ जना वन शाखाका कर्मचारी हुन्।

“पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गर्‍यो, अन्त्यमा हामी बाध्य भएर ताला लगाउनुपर्‍यो,” कर्मचारी पाण्डेले भने। नगरपालिकाका उपमेयर गणेशबहादुर शाहीले भने समस्यालाई गम्भीर रूपमा लिइएको र समाधानका लागि आन्तरिक छलफल चलिरहेको बताए।

कालीकोटका सामाजिक अभियन्ता हिक्मतजंग मल्लले नगरपालिकाको गैरजिम्मेवार रवैयाले जनतामाझ निराशा बढाएको बताए। “सेवाग्राही पालिकाको ढोकामा धाइरहेका छन्, तर कर्मचारी तलबविहीन छन्,” उनले भने।

अब समस्या कहिले र कसरी समाधान हुन्छ भन्नेमा सबैको नजर नगरपालिका प्रशासनमाथि टिकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *