
काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये थप १३ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ। यससँगै यो प्रकरणमा हिरासत मुक्त हुनेको संख्या २१ पुगेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले भद्रकालीस्थित हिरासतमा रहेका उनीहरूलाई अनुसन्धान प्रक्रिया जारी राख्दै रिहा गरेको हो। प्रहरीका अनुसार बयान लगायत प्रारम्भिक अनुसन्धान सकिएपछि उनीहरूलाई हिरासतमा राखिराख्नुपर्ने अवस्था नरहेकाले जमानीमा छाडिएको हो।
यद्यपि, प्रहरीले स्पष्ट पारेको छ कि उनीहरूमाथि अनुसन्धान भने अगाडि बढ्नेछ, र सबैविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिनेछ। अदालतमा हाजिर हुने सर्तमा रिहा गरिएका उनीहरूमा तीनकुनेस्थित भाटभटेनी तोडफोडका क्रममा फलफूल टिप्नेहरू समेत रहेको प्रहरीले जनाएको छ।
तीनकुने घटनामा प्रहरीले अहिलेसम्म ८५ जनालाई पक्राउ गरी अदालतबाट म्याद लिइ अनुसन्धान गर्दै आएको छ। हालसम्म २१ जना हिरासतमुक्त भएका छन् भने बाँकी ६४ जना प्रहरी हिरासतमा छन्।
प्रदर्शनका क्रममा भएको क्षति र अपराधमा संलग्नता पुष्टि गर्ने उद्देश्यले अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।