देश

डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

डोटी।डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामग्री बोकेर गइरहेको सु.प.प्र. ०१–००१ ख ३४२८ नम्बरको मिनि ट्रक बिहान ६:०५ बजे भिमदत्त राजमार्गको सडकबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा परेर बझाङ बुङ्गल नगरपालिका–२, दहबगर निवासी करिब ३२/३३ वर्षीय चालक अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको हो। साथै दुई यात्रुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुई जनाको नाम, थर र पहिचान खुल्न बाँकी रहेको छ।

प्रहरीका अनुसार मिनि ट्रक अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *